Jeevan Sharma Biography | जीवन शर्मा संक्षिप्त जीवन परिचय |

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • हजुर, यस्तै सामान्य मान्छेका पीडा, व्यथा, वेदना र तिनको कठिन जीवन सङ्घर्षलाई नजिकैबाट नियालेर उनीहरूकै पक्षमा गीत लेख्दै, गाउँदै हिँड्ने एक जना अथक सङ्गीत यात्रीको सुनाम हो- जीवन शर्मा । माता द्रौपदादेवी र बाबु चन्द्रदत्त उपाध्यायबाट वि.सं. २०१६ चैत २६ गते गण्डकी प्रदेशको जैमिनी नगरपालिका १०, पाही, बाग्लुङमा जन्मेका जीवन शर्मा शब्द, सङ्गीत र स्वरका त्रिवेणी हुन् । हाल काठमाडौँको घट्टेकुलोमा अस्थाई बसोबास गर्ने उनले मानवशास्त्र र अङ्ग्रेजी विषयमा स्नातकोत्तर गरेका छन् । गीत रचना, सङ्गीत र गायनबाहेक नाटक लेखनमा समेत रुचि राख्ने शर्माका जनसङ्गीत यात्रा (गीत सङ्ग्रह), ठुली, पूजा, नालापानीदेखि कालापानी, जवाफ जस्ता गीतिनाटक, अभियात्रा कविता सङ्ग्रहका साथै २५०० भन्दा बढी संगीतबद्ध गीतहरू प्रकाशित तथा प्रसारित छन् । नेपाली जनवादी गीत सङ्गीतका क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएका शर्मालाई मातृभूमि पुरस्कार, हेमसरिता पाठक सङ्गीत पुरस्कार, शुक्ला गण्डकी साहित्य पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार, नागरिक पुरस्कार लगायत विभिन्न सम्मान तथा पुरस्कारद्वारा सम्मानित गरिएको छ । शर्माले भारत, हङ्कङ, कतार, युएइ, बहराइन, ओमन, पोर्चुगल, बेल्जियम, डेनमार्क, लक्जमबर्ग, जापान, कोरिया, मलेसिया, अस्ट्रेलिया, चिन लगागतका विदेशी भूमिमा समेत आफ्ना साङ्गीतिक प्रस्तुतिहरू दिइसकेका छन् । हाल शर्मा ‘रातो लालटिन’ साहित्यिक त्रैमासिक पत्रिकासँग सम्बद्ध रहेका छन् । सुरुमा वेदना परिवारसँग जोडिएर तथा पछि रक्तिम परिवारको संस्थापक भएर त्यसै संस्थामार्फत् समाजका भुइँमान्छे र उनीहरूको मुक्तिका पक्षमा गीत गाउँदै हिँड्ने शर्माले २०३६ को जनमतसङ्ग्रहताका इन्जिनियरिङको पढाइसमेत छाडे । आमजनतासँगको उनको त्यो गीतियात्रा आजपर्यन्त जारी छ । “सम्पन्न परिवारमा जन्मेर पनि हाल अघोषित सुकुम्बासी जस्तै छ उहाँको जीवन ।” साहित्यकार तथा पत्रकार विवश बस्ती लेख्छन् । हुन पनि उनले पैतृक अंशमा पाएको चितवनको डेढ कट्ठा घडेरी नेपाली जनवादी गीत सङ्गीतको विकासका लागि ‘नेपाल सांस्कृतिक प्रतिष्ठान’मा लगानी गरे । शर्मा भन्छन्, “त्यो प्रतिष्ठानलाई नेपालका गरिब, दुःखी र उत्पीडित जनताको गीत-सङ्गीतको केन्द्र बनाउने विचार थियो । तर युद्ध सुरु भएपछि हाम्रा गीतहरूमाथि प्रतिबन्ध लाग्यो । म पनि भूमिगत भएँ । म पनि नभएपछि प्रतिष्ठान डुब्यो र मेरो अंश पनि डुब्यो ।” जीवनका धेरै उतारचढाव खपेका शर्मालाई आफ्नो कर्मप्रति कुनै गुनासो छैन । गीत सङ्गीतबाहेक अन्य क्षेत्रमा लागेको भए कङ्क्रिटको जङ्गलमा थप एकदुई घर उनका नाममा हुन्थे होलान् तर आम नेपाली जनताको अपार माया सायद उनले पाउन सक्ने थिएनन् । आम जनतालाई विद्रोहका लागि प्रेरित गर्ने, शब्द, स्वर र सङ्गीतमार्फत् उनीहरूमा जागरण ल्याउन प्रयत्न गर्ने जीवन शर्मा तमाम शोषितपीडित निम्नवर्गीय नेपालीका साझा आवाज हुन् । निष्ठा र स्वाभिमानका धरहरा जीवन शर्माका सिमली छायामा बसी भरिया, समयसँग सम्झौता होइन सङ्घर्ष गर, झरनाको चिसो पानीलगायत थुप्रै गीतहरू लोकप्रिय छन् । र, आज उनै जीवन शर्मालाई हामीबिच सुन्दर नगरी हेटौँडामा प्रगतिशील लेखक सङ्घ मकवानपुरले प्रस्तुत गर्दै छ । धन्यवाद ! #NsTelevisionHD #JeevanSharma #NepaliSong

Комментарии •